प्रिय साथी
प्रिय साथी भावना,
जीवनको यो रंगीन यात्रामा, धेरैजसो सम्बन्धहरू मौसम जस्ता हुन्छन् — आउँछन्, केही समय बस्छन् अनि हराउँछन्। तर तिमी, भावना, तिमी भने त्यो न्यानो घाम हौं — जसले मेरो दिनलाई उज्यालो बनायो, र मेरो मनलाई सान्त्वना दियो।
तिमी सँगको मित्रता कुनै किताबमा पढिएको कथा होइन, यो त जीवनको त्यो पाना हो जुन मैले आफैँ लेखिरहेको छु — र त्यो पानामा तिमी हौं, मेरो हरेक संवादको साँचो पात्र।
जीवनको हरेक मोडमा थुप्रै मानिसहरू आइरहन्छन्, जान्छन्, तर केही यस्ता हुन्छन् जो मनको एक कुनामा स्थायी रूपमा बस्छन्। तिमी त्यही मान्छे हौं — जसको साथ, बोली, हाँसो र आत्मीयता मेरो जीवनको अमूल्य हिस्सा बनेको छ।
साँचो कुरा के हो भने — तिमी मेरा लागि केवल साथी होइनौ, तिमी मेरा ‘अनकहा भाव’ हौं। म जुन कुरा संसारसँग बाँड्न सक्दिन, त्यो तिमीलाई बिना बोले महसुस हुन्छ। तिमी सँग म बोल्दा, शब्दहरू भन्दा मौनता बढी अर्थपूर्ण लाग्छ।
आजकलको दुनियाँमा धेरै साथी बन्छन्, तर कमैले मात्र ‘आफ्नोपन’ दिन्छन्। तिमी त्यो दुर्लभ मान्छे हौं, जसको आत्मीयता अभिनय होइन, अनुभव हो। तिमीमा कुनै "दुई अनुहार" छैन — तिमी जे हौं, त्यही देखिन्छ, त्यही महसुस हुन्छ। यही त हो — जुन आजसम्म मैले अरू कसैमा भेटिनँ।
कहिलेकाहीँ लाग्छ — तिमी मेरो जीवनको त्यो अध्याय हौं, जसलाई पढ्दा म रोए पनि, अन्ततः मुस्कानसहित बन्द गर्छु। किनकि तिमी मेरो कथा मात्र होइन, मेरो ‘कलमको हिम्मत’ हौं। तिमीले मलाई सम्झाइदियौ — "एक जना साँचो साथी हुनु भनेको, सय जना ‘साथ’ हुनु भन्दा धेरै हो।"
भावना, तिमी कुनै भूमिका नभई, मेरो जीवनको स्थायी स्थान हौं। तिमी जस्तो आत्मा भेटिनु, कुनै योजना होइन — त्यो त ब्रह्माण्डले दिएको इनाम हो।
तिमी सँग भएको मित्रता जतिसुकै पुरानो होस्, हरेक दिन नयाँ लाग्छ। सायद यही कारणले गर्दा म हरेक चोटि तिमीलाई ‘धन्यवाद’ भन्न चाहन्छु — तर शब्द सधैं अपूरो लाग्छन्।
यदि भविष्यमा हामी फरक बाटो लाग्यौं भने पनि, तिमी मेरो सम्झनामा त्यो संगीत बनी रहनेछ्यौ — जुन एकपटक सुनेपछि कहिल्यै भुलिँदैन।
तिमी सधैं मसँग हौ —
मेरो हाँसोमा, मेरो मौनतामा, मेरो आत्मविश्वासमा।
तिमीलाई जीवनले सबै खुशी देओस्, तिमी जस्तै सादगीपूर्ण, असल, र उज्यालो यात्रा होस्।
सधैं तिमीप्रति आभारी,
तपाईंको जीवनभरको साथी — [ Bhupi ]
-भुपेन्द्र कठायत (दिपायल -४ डोटी )
(कैलाली बहुमुखी क्याम्पस)
Comments
Post a Comment