मेरा युवा साथीहरु...
आज म यहाँ देशका आशा, देशका शक्ति, र देशका भविष्य — हाम्रा युवासाथीहरू समक्ष केही भावना बाँड्न चाहन्छु। हामी सबैलाई थाहा छ, हाम्रो देश अहिले विभिन्न चुनौतीहरूबाट गुज्रिरहेको छ। अवसरहरूको कमी, रोजगारीको अभाव, शिक्षा र स्वास्थ्यको दुर्गति—यी सबै कारणले आज हजारौं युवा विदेशिने निर्णय गरिरहेका छन्। तर म यहाँ एक प्रश्न उठाउन चाहन्छु — यदि हामी सबै गयौं भने, देश कसले बनाउने? यदि हामी सबैले बाहिरको उज्यालो हेरेर आफ्नै देशको अँध्यारो छोड्यौं भने, त्यो उज्यालो कहिल्यै हाम्रो आँगनमा आउला त?
हामीले बुझ्न जरुरी छ — देश बनाउने काम सरकार, नेताहरु वा केही विशेष वर्गको मात्र होइन। देश बनाउने जिम्मेवारी हामी सबैको हो, र विशेषगरी हाम्रो पुस्ताको हो। किनभने हामीसँग जोश छ, ऊर्जा छ, नयाँ सोच छ। हामीसँग प्रविधिको ज्ञान छ, र परिवर्तनको साहस पनि।
सवाल यति हो — के हामी त्यो साहस देखाउन तयार छौं?
विदेशमा काम गरेर पैसा कमाउनु नराम्रो होइन, तर सोचौं — त्यही परिश्रम, त्यही प्रतिभा, त्यही समय हामीले आफ्नै देशमा लगायौं भने कति फरक पर्न सक्छ? यहाँको माटो, यहाँका मान्छे, यहाँका सम्भावना — यी सबैले हामीलाई बोलाइरहेका छन्। केवल एक चोटि त्यस बोलाइलाई सुन्नुहोस्।
देश भित्रै व्यवसाय सुरु गर्न सकिन्छ। कृषि, पर्यटन, प्रविधि, शिक्षामा नयाँ प्रयोग गर्न सकिन्छ। स्थानीय समस्या समाधान गर्न हामी नै अगाडि आउन सक्छौं। आजको युगमा साना प्रयासहरूले ठूलो प्रभाव पार्न सक्छ। केवल विश्वास चाहिन्छ, र निरन्तर प्रयास।
हामीले आज जुन बाटो रोज्छौं, त्यसले हाम्रो मात्र होइन, सम्पूर्ण पुस्ताको भविष्य निर्धारण गर्छ। हामी चाहन्छौं कि हामीलाई हेरेर आउने पिँढीले गौरवले भन्ला — "हामीका अग्रजहरूले देश नछोडी देश बनाउने बाटो रोजेका थिए।"
अन्त्यमा, म तपाईंहरू सबैलाई आग्रह गर्न चाहन्छु — बाहिरी अवसर हेर्नुहोस्, तर आफ्नै देशको सम्भावनालाई नबिर्सनुहोस्। समस्या देख्नुहोस्, तर समाधान बन्नुहोस्। असफलताले नडराउनुहोस्, किनभने असफलता बिना सफलता सम्भव छैन।
देश हाम्रो हो। यदि हामीले यसलाई नबनायौं भने, कसले बनाउने?
अहिलेको निर्णय हाम्रो इतिहास बन्नेछ। आउनुहोस्, युवाशक्ति भएर देश बनाउने अभियानमा लागौं। हामीले बनाएको देश हेर्न सारा संसार चकित हुनेछ।
:- भुपेन्द्र कठायत
(दिपायल सिलगढी -४ राजपुर डोटी )
Thank you so much 🙏
ReplyDelete